आज आफ्नै भाषामा लेख्न मन लाग्यो। केहि कुरा अन्य भाषाको शब्दकोषमा भेटिदैनन्। आफ्नो भाषा फेरी आफ्नै हो। हिजो राम्ररी निंद्रा लागेन। यो त रोग नै भैसकेको छ खोइ ठीक पनि हुने सम्भावना देख्दिन। केहि समय अलि ठीक भए जस्तो हुन्छ फेरि जस्ताको तस्तै। अफिसमा हुँदा प्राय घरमा फोन गर्ने मेरो बानी आज टोडियो। गफ पनि सारै कम भएछ क्यार!! हुन त आ-आफ्नै क्याबीनमा गए पछि साथीहरुसंगको गफ-गाफ पनि निकै कम भएको छ। वास्तवमा भन्ने हो भने हामीहरुको त्यति कुरा मिल्दा पनि मिल्दैन। हामी सबै आ-आफ्नै किसिमका छौं। मुड पनि थाहा नहुने। म कुरा गरिरहनु पर्ने, एउटा धेरै बोल्न मन नपराउने, अर्को अरुको कुरा गर्न सारै रमाउने। म भने अलि मुढि पनि छु, अनि शायद अलि घमण्डी पनि, चाहिने भन्दा बढी बोल्नु पर्ने। मैले यो विचार गरेको छु की राकेशलाई यो कुरा त्यति मन पर्दैन तर मलाई त्यसको के मतलब। हुन त मलाई माथी शाखाको एउटा मान्छेले भन्थ्यो कि उसलाई अरुले गरेको केहि मन पर्दैन रे! अरु बाहिरको मान्छे हुँदा उसलाई हाम्रो खिल्लि उडाउन झन रमाइलो लाग्छ मानौं उ अरुको अगाडी ठुलो हुन चाहन्छ। उसको कुरामा तर्क दिएको पनि उसलाई मन पर्दैन, रिसाउँछ। तर उ रिसाएको चाँडै थाहा हुन्छ। हामी एक अर्कालाई ‘तिमी’ भनेर सम्बोधन गर्छौ तर जब उसलाई रिस उठ्छ उ एकदम तल्लो स्तरले ‘तँ’ भनेर सम्बोधन गर्छ।मलाई उसले ‘तँ’ भनेको फिटिक्कै मन पर्दैन म उसको साथी होइन समकक्षी मात्र हो। साथी र समक्षी वीच घेरै भिन्नता छ जस्तो मलाई लाग्छ। मैले म सबै भन्दा ठिक छु भनेको होइन सायद म अरु भन्दा कम छैन।
आज समय विताउन सार्है गारो भयो। टाउको पनि दुखिरहेकोले केहि कुरामा मन गएको पनि थिएन, फेरि आजै काम पनि अलि बढी थियो। अल्छिलागे पनि काम त गर्नै पर्यो। पानी परेको भए अलि सजिलो हुँदो हो तर मलाई सजिलो पार्न पानी किन पर्थ्यो र? आज एक थोपा पनि पानी परेन तर गर्मी पनि त्यति थिएन, आफ्नो मन नै ठिक नभए पछि रामरो भए पनि के नरामरो भए पनि के। खाजा खान पनि मन लागेको थिएन तर ग्यास्ट्रिकले दुख देला भनेर मन नलागी नलागी पनि खाजा खान गएँ। एउटा उपन्यास पढ्न भर्खर शुरु गरेको थिएँ, त्यो पनि पढ्न मन लागेन, दुई-चार पान्ना पढेर छोडि दिएँ। प्रसिदले राम्रो छ भनेर दिएको थियो तर मलाई त्यति मन परेन। उसैत आफुलाई टाउको दुखिरहेको त्यसमाथि विरामीहरुको कथा पढ्न मलाई आँट नै आएन, वीचैमा छोडिदिएँ। कसले टेन्सन लिइरहोस्।
राम्ररी नसतेको भएर पनि होला आँखा पनि पोलिरहेको थियो।कम्प्युटर हेर्ने इच्छा नै थिएन तर आफ्नो काम नै त्सैमा छ। बोलिरहने भएर पनि अफिसमा कुरा मिल्ने साथी सुवास बाहेक कोहि छैन। त्यसको कारण पनि म आफैं हो। कुरै गर्न अन्य शाखामा जाने मेरो बानी छैन त्यसैले अन्य शाखामा साथी पनि छैन। हेमको पनि मेरो जस्तै अन्य शाखामा हेलमेल छैन हाम्रो काम पनि अरु शाखामा पर्दैन। माथि के हुन्छ सब राकेशवाट थाहा हुन्छ। उसलाई प्राय सबै साना ठुला कुरा थाहा हुन्छ।स्वाभावैले मजवुर उसको कुरा मनमा अटदैन र सब कुरा भन्छ, किन भन्छ थाहा छैन।उसैलाई झुठ खबर सुनाउछन् की उ जानी जानी नभएको कुरा सुनाउँछ त्यो त थाहा छैन तर उसका धेरै कुरा एउटा कानले सुनेर अर्को कानले उडाउनुनै बेस हुन्छ। ठीक नै भए पनि अरुको कुरा सुनेर केहि फाइदा हुन्न क्यारे!
अँ साँच्ची, म स्कुलमा हुँदा धेरै नबोल्ने, कलेजमा पनि सबैभन्दा कम बोल्ने मै होला। त्यसबेला सार्है संकोच लाग्थ्यो तर हिजो-आज बोल्न पनि के को लाज जस्तो लाग्छ। पहिले नबोलेर पीर हिजोआज धेरै बोलेर पीर। जस्को अगाडी पनि बोल्न सक्ने भएकोछु। पहिले आफु नबोल्ने हुँदा अरु बोलेको देख्दा कति धेरै बोल्छ यो मान्छे जस्तो लाग्थ्यो आजकल अरुले पनि त्यस्तै सोच्छन् होला जस्तो लाग्छ- फेरी अरुले के सोच्छन भनेर आफुलाई लागेको कुरा लुकाउनु पनि त भएन नि! मिटिङमा पनि बढी बोल्ले म नै हुन्छु, अरु भित्र चुप बस्छन् बाहिर आएर यो भएन र उ भएन भनेर कुर्लिन्छन।
खैर कसैको कुरा काट्ने मेरो मन होइन। कुनै विशेष विषयवस्तु लिएर पनि बसेको होइन, त्यतिकै। हामी कर्मचारी मान्छे, अफिसको वाहेक अरु कुरै नआउने। एउटै ठाउँ, एउटै अफिस, एकै किसिमका मान्छे केनपुगेको, के नपुगेको जस्तो हुँदो रहेछ। यस पटक घुम्न जाने इच्छा छ तर के हुन्छ थाहा छैन। अलि शान्त ठाउँमा जान पाए राम्रो हुने थियो। घुम्न त मलाइ एक्लै पनि रमाइलो लाग्छ अलि एकान्त मन पराउने मान्छे म।बस् एउटा बस होस् लामो बाटो होस् सानो आवाजमा बजेको गीत होस् अरु खासै केहि चाहिन्न बरु बाटोको छेउछाउमा ठुला रुखहरु हुन मन्द मन्द हावा चलोस् क्या मज्जा हुने थियो। त्यस्तो हुँदो हो त म पुरा जिन्दगीनै बिताउन सक्थें होला त्यसै बसमा। जाबो यति लेख्न पनि एक घण्टा लागिसकेछ, हुन त म नेपालीमा त्यति लेख्ने पनि होइन, युनिकोड सिकेको मात्र हो, अब त अलि अलि आयो जस्तो लाग्छ।
No comments:
Post a Comment